काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरो खसेर सडक पुनः अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, मध्यान्ह १२ बजेदेखि सो स्थानमा दुईतर्फी आवागमन बन्द भएको हो ।
अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकाले सो क्रम रोकिएपछि मात्रै पहिरो हटाउने काम सुचारु हुने कार्यालयले जनाएको छ ।
डिभिजनबाट उपकरणहरू तैनाथ अवस्थामा रहेको पनि कार्यालयले जनाएको छ । अघिल्लो सातापनि यही ठाउँमा आएको पहिरो ४५ घण्टा लगाएर पन्छाइएको थियो ।
यो सडक खण्ड हुँदै दसैँ मनाउन घर जानेहरू यसपटक तुइनखोलाको पहिरोका कारण समस्यामा परेका छन् । पश्चिमतर्फ हिँडेका सवारी साधनहरू अहिले मुग्लिन सडक खण्डमा लामबद्ध हुन थालेका छन् ।