काठमाडौं – मुग्लिन-नारायणघाट सडकखण्ड अवरुद्ध बनाएको तुइन खोलाको पहिरो पन्छाउने कार्य करिब ६० प्रतिशत सम्पन्न भएको छ।
सडक डिभिजन भरतपुरले कुनै थप बाधा नआए आज (बिहीबार) रातिसम्ममा सडक पूर्ण रूपमा खुलाएर यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ।
सडक डिभिजनका अनुसार, नारायणगढ र मुग्लिन दुवैतर्फबाट एक्स्काभेटर र लोडरसहितका ५ वटा हेभी उपकरणहरूले निरन्तर काम गरिरहेका छन्। काम गर्ने ठाउँ साँघुरो भएकाले थप उपकरण तैनाथी अवस्थामा राखिए पनि एकैपटकमा ५ वटाले मात्र काम गर्न सक्ने अवस्था रहेको विभागले स्पष्ट पारेको छ।
पहिरो पन्छाउने क्रममा नारायणगढतर्फ ठूला ढुंगाहरू भेटिएकाले काममा केही कठिनाइ भएको छ। साथै, पहिरोमा तिखा ढुंगाहरूको मात्रा बढी हुँदा उपकरणका टायर पन्चर हुने र ढुंगा खसेर अपरेटर घाइते हुन सक्ने जोखिमले गर्दा सोचेजस्तो प्रगति हुन नसकेको विभागले स्वीकार गरेको छ।
यही समस्यालाई मध्यनजर गर्दै हेभी इक्विपमेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट दुई जना अतिरिक्त अपरेटर थप गरिएको छ।
मंगलबार साँझदेखि अवरुद्ध सडकका कारण हजारौं यात्रु प्रभावित भएका छन्। सडक पूर्ण रूपमा नखुलेसम्म वैकल्पिक मार्ग नै प्रयोग गर्न विभागले सबैमा अनुरोध गरेको छ।