भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षा आज सम्पन्न गरेको छ । गत भदौ २८ र २९ गते सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरे पनि जेन जेड आन्दोलनबाट आएको नयाँ परिस्थितिका कारण सरेको परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको थियो ।
बोर्डले मंगलवार ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) एक विषयको मात्रै परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) को परीक्षा दिएका थिए ।
आज दुई विषयमा परीक्षा दिने परीक्षार्थीमध्ये आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन गरेको बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । बोर्डका अनुसार परीक्षा देशभरका सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ ।