
काठमाडौँ । चाडपर्वलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना बनाएर लागु गरेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरमा चाडपर्वलक्षित गरी ठुलो मात्रामा प्रहरी परिचालन सुरु गरिएको छ ।
उपत्यकामा मात्रै ६ हजार १ सय ६ प्रहरी परिचालन गर्ने गरी व्यवस्था मिलाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यसरी परिचालन हुने प्रहरीलाई विभिन्न क्लस्टरमा विभाजन गरेर जिम्मेवारी तोकिएको छ ।
दशैं, तिहार तथा छठ पर्वहरूमा चोरी, डकैती, लुटपाट जस्ता घटनाहरू बढी हुने भन्दै सोही अनुसारको रणनीति बनाएर काम सुरु गरिएको प्रहरीले बताएको छ । चाडपर्व मनाउन गाउँ जाँदा काठमाडौँका डेराकोठा तथा घरहरू सुनसान हुने र यही मौकामा चोरी हुने गरेको घटनाहरू विगतमा पनि छन् ।
यो पटक झनै कारागारमा रहेका ७ हजार भन्दा बढी कैदी बन्दी फरार रहेको, हिरासतमा रहेका थुनुवा पनि फरार रहेका झन् धेरै चोरीका घटना हुनसक्ने आशंका गरिएको छ । जसअनुसार आफूले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
यस्ता घटनालाई न्यूनीकरण गर्नका लागि पैदल गस्ती, साइकल गस्ती, नाकाहरूमा डग स्निफिङ, सादा पोसाकका प्रहरी परिचालन, सीआरभी, क्यूआरटीलाई तयारी अवस्थामा राखेर काम सुरु गरिएको बताइएको छ ।