कास्की । गण्डकी प्रदेशमा जेन जेडको प्रदर्शनका क्रममा क्षति भएका सरकारी, व्यावसायिक तथा निजी भौतिक संरचनाको शनिवारदेखि प्रारम्भिक अध्ययन तथा मूल्यांकन सुरु भएको छ ।
नेपाल इञ्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशले प्रदेश सरकारसँगको सहकार्यमा यही भदौ २३ र २४ गते प्रदर्शनका क्रममा आगजनी गरी क्षति पुगेका संरचनाको प्रारम्भिक अवस्थाको अध्ययन तथा मूल्यांकन ‘र्यापिड भिजुअल ड्यामेज एसेसमेन्ट’ (आरभीडीए) अभियान सुरु गरेको हो ।
यस अभियानअन्तर्गत गण्डकी प्रदेशमातहतका विभिन्न मन्त्रालय, सरकारी कार्यालय तथा सार्वजनिक भवनको स्थलगत निरीक्षण गरी क्षतिको अवस्थाबारे तथ्यांक संकलन गरिने एसोसिएसनका सभापति सन्तोष जिसीले बताए । उनका अनुसार इन्जिनियरहरूको छ वटा छुट्टाछुट्टै समूह गठन गरेर क्षतिको अवस्थाबारे तथ्यांक संकलन थालिएको गरिएको छ ।
प्रत्येक टोलीमा एक टोली नेता र पाँच जनासम्म सदस्य रहेका छन् । प्रत्येक टोलीको कार्यक्षेत्र, निरीक्षण क्षेत्र र जिम्मेवारीसमेत तोकिएको एसोसिएसनले जनाएको छ । यस अभियानबाट क्षतिको वास्तविक विवरण प्राप्त हुने अपेक्षा गरिएको छ ।
सभापति जिसीले भने, “प्रभावित संरचनाको वर्तमान अवस्थामा सुरक्षित छ वा छैनन् भन्ने निर्धारणका लागि तत्काल प्राविधिक परीक्षण आवश्यक छ । हामीले सुरु गरेको यस अभियानले गण्डकी प्रदेशका सरकारी भवनको वास्तविक क्षतिको अवस्था उजागर गर्दै आगामी दिनमा पुन:निर्माणको योजनाका लागि प्राविधिक आधार तयार गर्नेछ ।”
त्यसैगरी, अभियानबाट संकलन भएको तथ्यांक तथा जानकारी आगामी चरणमा आवश्यक पुन:निर्माण, मर्मत तथा जोखिम न्यूनीकरणका लागि महत्त्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ । जेन जेड प्रदर्शनका क्रममा प्रदेशमा सबैभन्दा बढी क्षति पोखरामा भएको छ । मुख्यमन्त्री कार्यालय, प्रदेशसभा, मन्त्रालय, जिल्ला प्रशासन, मालपोत, जिल्ला अदालतलगायत पाँच दर्जनभन्दा बढी कार्यालयमा आगजनी र तोडफोड भएको छ । प्रदर्शनका क्रममा आगजनीमा परेर पोखरामा तीन जनाले ज्यान गुमाएका थिए ।