
काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद् पुनर्स्थापनाको मागलाई प्रमुख मुद्दा पार्टीले बनाएर जानुपर्ने धारणा राखेका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा आज बसेको कार्यसम्पादन समितिको बैठकमा नेता सिटौलाले संसद् विघटन असंवैधानिक रहेकाले त्यसलाई प्रमुख मुद्दा बनाउनु पर्ने धारणा राखेका हुन् ।
सिटौलाले पार्टी बैठकमा राखेको धारणा उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘संसद् विघटन संविधान अनुसार छैन । संसद् विघटनलाई पार्टीले असंवैधानिक भनिसकेपछि संसद् पुनर्स्थापना हाम्रो प्रमुख माग हुनुपर्छ ।’
उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले पछिल्लो घटनाक्रमबारे अन्य दलसँग पनि संवाद गर्ने निर्णय गरेको छ ।
बैठकमा केन्द्रीय समिति बैठक छिट्टै बोलाउनेबारे पनि छलफल भएको छ।