
काठमाडौँ । नेपाली काँग्रेसले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष गरेको छ । पार्टी कार्यालय सानेपमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यस विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।
साथै केन्द्रीय समिति बैठक दशैं अघि नै बोलाउने निर्णय समेत गरेको छ । २३ र २४ भदौमा भएको जेन जेडको आन्दोलनपछि पहिलो पटक औपचारिक बैठक बसिरहेको हो ।
प्रदर्शनकारीले आगजनी गरेका कारण काँग्रेस केन्द्रीय कार्यालय क्षतिग्रस्त बनेको छ । क्षतिग्रस्त कार्यालयमा पहिलो पटक आज उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक बसेको हो ।
आन्दोलनपछि कार्यसम्पादन समितिको बैठक एक पटक भर्चुअल बसेको थियो ।
सभापति शेरबहादुर देउवा दम्पतीमाथि आन्दोलनका क्रममा कुटपिट भएको थियो । देउवा दम्पती अहिले उपचाररत छन् ।
आन्दोलनका क्रममा काँग्रेसका अधिकांश शीर्ष नेताहरूको घरमा समेत क्षति पुर्याइएको छ ।