
काठमाडौँ । बागमती प्रदेश सभाका सभामुख भवनकुमार पाठकले राजीनामा बुझाएका छन् ।
जेन जेडको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईँलाई राजीनामा पत्र बुझाएका हुन ।
उनले यसअघि नै राजीनामा घोषणा गरे पनि कानुनी प्रक्रिया पुरा गर्न अनुकूल नभएको पत्रमा उल्लेख गरेका छन् ।
‘नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु,’ पत्रमा भनिएको छ । उनले राष्ट रोएको बेला नेपाली जनताको चाहाना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित लागेको बताएका छन् ।
२४ भदौमा राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरूले सामूहिक राजीनामा दिने भएपछि पाठकले पनि सभामुख पदबाट राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गरेका थिए । पाठक राप्रपाबाट बागमतीको सभामुख बनेका थिए ।