
काठमाडौँ- दशैंलाई लक्षित गरी घटस्थापनादेखि २२ असोज (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरिने भएको छ ।
यातायात व्यवस्था विभागका अनुसार मंगलबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।
कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने भएको छ ।
बैठकले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने निर्णय समेत गरेको विभागले जनाएको छ ।
यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारी साधन ६ असोज घटस्थापनादेखि २० असोज पूर्णिमासम्म नारायणबाट-काठमाडौँ रुटमा चलाउन नपाउने गरी निर्णय भएको छ ।
आयात निर्यातका सवारी साधन भने भन्सार कार्यालय बन्द रहने अवधि बाहेकका दिन यो रुटमा चल्न सक्ने छन् ।