
काठमाडौं– जेनजी आन्दोलनले उग्र रुप लिएपछि अन्डरग्राउन्ड रहेका तीन मुख्य दल मानिएका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका दोस्रा र तेस्रा तहका नेता खुले पनि शीर्ष नेता अझै भूमिगत रहेका छन्।
आन्दोलनमा ठूलो क्षतीसहित राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम चुनावी सरकारको प्रधानमन्त्री नियुक्त गरेपछि सदन विघटन गरेका थिए। यसमा तीन दलको असहमति रहेको थियो।
स्थिति निक्कै आक्रामक बनेपछि मन्त्रीसहित प्रधानमन्त्री रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली सेनाको हेलिकोप्टरमा राखेर सुरक्षित स्थानमा लगिएको भिडिओसम्म आएको थियो।
यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजु राणामाथि आन्दोलनकारीले आक्रमण गरेपछि उद्दार गरेकोसम्म भिडिओ आएको थियो। यसपछि उपचारका क्रममा राखिएको भन्ने सूचना मात्र आएका छन्।
आन्दोलन हिंसात्मक बनेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाएक भूमिगत बनेका थिए। उनको नामको विज्ञप्ति आएप नि प्रचण्डबारे कुनै पनि जानकारी सतहमा आएको थिएन।
एक सातादेखि तीनै जना शीर्ष नेता भूमिगत छन्। उच्च सैनिक स्रोतका अनुसार उनीहरुलाई सुरक्षाको हिसाबले सार्वजनिक गरिएको छैन।
तर, आइतबार भने सेनाको भैरवनाथ गणमा रहेका मन्त्रीलगायतका अन्य नेतालाई भने छाडिएको विवरण सतहमा आएका थिए।
निरन्तर औषधि लिनुपर्ने ओली र राधिका शाक्य, देउवा र राणा अनि प्रचण्ड र उनको परिवार भने कहाँ छ भन्ने सुईँको र भनकसम्म पनि सतहमा आइसकेको छैन।