
देशकै पहिलो प्रसारण स्टेसन, रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र र रेडियो नेपालको पश्चिमतर्फ रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भने जोगिएका छन् । यसमा रेडियो नेपालमा कार्यरत राजेन्द्र विक्रम शाही र नारायण श्रेष्ठको प्रमुख भूमिका देखिएको छ
उनीहरूले आगजनी र तोडफोडका लागि पुगेका प्रदर्शनकारीलाई नमस्कार गर्दै, सम्झाउँदै बुझाउँदै गरेर पठाएका कारण आगलागी र थप तोडफोड हुन पाएन । यद्यपि, यी दुई निकायमा केही क्षति भने पुगेको छ । सार्वजनिक प्रसारण सेवाका अध्यक्षको कार्यकक्षमा तोडफोड गरिएको छ भने कम्प्युटर समेत चोरेर लगेको पाइएका छन ।
‘जति समूह आएपनि हामीले सम्झाएपछि उनीहरू रेडियो नेपालको गेटसम्म आउँदै फर्किँदै गरे । रेडियो नेपालको पर्खाल अग्लो नभएकाले पाँच–छ जनाको एक समूह प्रशासनिक भवनतिर आयो । उनीहरू हातमा फलामको रड र साङ्लोसहित थिए । भित्र प्रवेश गरेर हाजिर मेसिन, टेलिकमले राखेको चार्जर पोर्ट तोडफोड गरेर पेट्रोल खन्याउँदै आगो लगाउन लागेका थिए । कार्यालय सहयोगी नारायण दाइ दौडिँदै जानुभयो र बिन्ती गरेपछि उनीहरूले आगो नलगाइ फर्किए ।
शाहीले मनमा डर भएपनि उनीहरूलाई केही कुरा भनेर भएपनि रोक्न सक्छु भन्ने आँटले गेटतिर अगाडि बढेको बताए । उनीहरूलाई रेडियो नेपाल सञ्चार संस्था रहेको, युवाहरूकै आवाज बोल्ने र दुस्ख र विपद्का बेला सधैँ चाहिने भन्दै सम्झाइबुझाइ गरेको शाही बताउँछन् ।
गेटमा गएर उनीहरूलाई यो रेडियो नेपाल हो है सरहरू, युवाहरूकै आवाज बोल्ने, दुस्ख र विपद्का बेला सधैँ चाहिने, भोलिका दिनमा हामी सबैलाई चाहिने संस्था हो भनेर सम्झाएँ । समूहमा रहेका केही केटाहरू जलाइदेऊ, भत्काइदेऊ भन्दै उफ्रिरहेका थिए’ ‘तर, राष्ट्रिय झण्डासहित आएका केटीहरूले विगतमा आफूहरू पनि रेडियो नेपालमा फोन गर्ने गरेको, सुन्ने गरेको, भूकम्प र कोरोनाको बेला रेडियोले निकै ठूलो गुण लगाएको छ भन्दै केटाहरूलाई सम्झाए । त्यसपछि त्यो समूह फेरि प्रधानमन्त्री कार्यालयतिर गयो ।
उनका अनुसार आन्दोलनकारीहरू हातमा लाठी, भाला, खुकुरी, पेट्रोल, लाइटरजस्ता सामान बोकेका देखिन्थे । त्यहीक्रममा आन्दोलनकारीहरूको एक हुल उद्योग मन्त्रालयको पछाडि पुगेको थियो । रेडियो नेपाल र उद्योग मन्त्रालय नजिकै भएकाले उद्योगतिर आगो लाग्दा रेडियोको भवनमा समेत सल्किनले खतरा भएपछि आफूले चलाखी गरेको उनले बताए ।
‘हामीले गेटबाटै आन्दोलनकारीहरूलाई त्यो पनि रेडियो नेपालकै हो साथीहरू नगर्नुस् भन्यौं । उनीहरूले सामान्य तोडफोड गरेर हच्किए । रुक्मणि दिदीले पनि गेटमा रहेकालाई सम्झाउँदै त्यहाँ रहेका रेडियोका गाडीहरू हुन् नजलाउनुस् भनेपछि केहीले उद्योग मन्त्रालयलाई यो पनि रेडियो नेपाल रहेछ नगरौं है साथीहरू भनेर फिर्ता लिएर गए’, शाहीले भने ।
साँझको समयमा समाचार वाचन गर्ने दायित्व भएपनि त्यसदिन उत्पन्न परिस्थितिले आफू ११ बजे नै कार्यालय पुगेको शाहीले बताए । आफूहरू रेडियो नेपालको प्राङ्गणमा हुँदा दिउँसो ३ बजेतिर आन्दोलनकारीहरूको हुल भित्र छिरिसकेको शाही बताउँछन् ।
उनीहरू शुरूमा प्रधानमन्त्री कार्यालय तोडफोडमा उत्रिएका थिए । त्यसपछि पार्किङमा राखेमा गाडीमा आगो सल्काए । अश्रुग्यासको सेल सिंहदरबार पर्खालभित्रै पुग्नेगरी मिल्काउँदा हामी भित्र रहेकालाई पनि आँखा पोलेर हेर्न कठिन भयो । त्यसैबीचमा महान्यायधिवक्ताको कार्यालयतिर धुवाँको मुस्लो निस्कियो । केही भीआईपीहरू सुरक्षासहित दौडिदै सिंहदरबार छिरे । उनीहरू नेपाली सेनाको गणतिर लागे । त्यसपछि आन्दोलनकारीहरू भित्र छिर्न प्रयास गरिरहेका थिए’, शाहीले भने, ‘हामीलाई पनि डर लाग्यो अब भित्रै आउने भए भनेर रेडियो नेपालमा कार्यरत विद्या प्रसाद उपाध्याय, मुकुन्द भण्डारी, सरिता खनाल, तुलसी सापकोटा, रुक्मणि पोखरेल, विद्या चौधरी लगायत हाम्रो कार्यालय परिसरतिर दौडियौं ।
कार्यालय सहयोगी श्रेष्ठ त्यो दिन र रात आफ्नालागि जीवनकै कहालीलाग्दो रहेको बताउँछन् । आगो लगाउन भनेर आएका प्रदर्शनकारीहरूलाई सम्झाउँदै बुझाउँदै गरेर ज्यान र कार्यालय जोगाएको उनको भनाइ छ ।
‘पटक पटक आउने आन्दोलनकारीको हुललाई सम्झाउँदै पठाउँदै गर्यौं । हाम्रो अफिस जोगाउन सफल भयौं, म यसैमा खुशी छु । राति आन्दोलनकारीहरू सबै निस्किएपछि राजेन्द्र सर पनि निस्किनुभयो’, श्रेष्ठ भन्छन्, ‘अब रातिमा को नै आउला भनेर म एक्लै रेडियोमै बसेँ । मनमा डर त थियो नै । त्यो रात म निदाउँदै सकिनँ । आँखामा दिनभरिका घटनाहरू नाचिरहेका थिए । आँखा झिमिक्क नगरेर त्यो रात काटेँ । मेरो जीवनको सबैभन्दा कहालीलाग्दो रात त्यही हो जस्तो लाग्छ ।’ छ । शाही समाचार शाखामा कार्यरत छन् भने श्रेष्ठ कार्यालय सहयोगी हुन् ।
उनीहरूले रेडियो नेपालको भूमिका, जनताको आवाज बोकेको संस्था भएको, विपद्मा काम लाग्ने माध्यम भएको भन्दै सम्झाए। उनीहरूको प्रयासले रेडियो नेपाल जोगियो, र उद्योग मन्त्रालयमा समेत आगलागी हुन पाएन। यद्यपि, केही तोडफोड र चोरी भए।
श्रेष्ठ त्यही रात एक्लै कार्यालयमा बसे, आँखै नझिम्क्याई बिताए। यी दुई कर्मचारीले संकटमा देखाएको साहस, धैर्य र कर्तव्यनिष्ठा वास्तवमै प्रेरणादायी छ।