
काठमाडौँ । जेन जेडको प्रदर्शनका क्रममा फरार अभियुक्त र कैदीबन्दीलाई तत्काल सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।
नेपाल प्रहरीका विभिन्न कार्यालय, इकाई तथा कारागारमा भएको तोडफोड र आगजनीका घटनापछि प्रहरी प्रधान कार्यालयले फरार रहेका अभियुक्त र कैदीबन्दीलाई सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाई वा अन्य सुरक्षा निकायसँग यथाशीघ्र सम्पर्कमा आउन अनुरोध गरेको हो ।
प्रहरीका अनुसार, अनुसन्धानका क्रममा हिरासतमा रहेका केही अभियुक्त र अदालतबाट सजाय भुक्तान गर्न कारागारमा रहेका कैदीबन्दीहरूले घटना पश्चात् फरार भएका छन्। उनीहरूको सुरक्षाको सुनिश्चितता र कानुनी प्रक्रिया पालनाका लागि प्रहरीले तत्काल सम्पर्कमा आउन आग्रह गरेको हो।