
वासिङटन- अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी सोलुसनको संयुक्त ब्याट्री कारखानामा शनिबार अमेरिकी आप्रवासन अधिकारीले छापा मार्दा ३ सयभन्दा बढी दक्षिण कोरियाली मजदुर पक्राउ परेको सोलस्थित विदेश मन्त्रालयले पुष्टि गरेको छ । विदेशमन्त्री चो ह्युनले सोलमा आयोजित आपत्कालीन बैठकमा बताएअनुसार कुल ४ सय ७५ जना पक्राउ परेकामध्ये ३ सयभन्दा बढी दक्षिण कोरियाका नागरिक रहेका छन् ।
अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागका विशेष एजेन्ट स्टिवन र्श्यांकका अनुसार, यो छापा एलाबेल सहरस्थित हुन्डाई–एलजीको संयुक्त कारखानामा बिहीबार भएको ‘गम्भीर संघीय अपराध र अवैध रोजगारसम्बन्धी आरोप’ मा अनुसन्धानका लागि भएको हो । ‘यो सामान्य आप्रवासन छापा होइन,’ र्श्यांकले थपे, ‘यो धेरै महिना लामो आपराधिक अनुसन्धानको नतिजा हो ।’ उनले पक्राउ परेका व्यक्तिहरू अमेरिकाभित्र अवैध रूपमा रहेर गैरकानुनी रूपमा कार्यरत रहेको बताए । पक्राउ परेका सबैलाई आप्रवासन तथा सीमा सुरक्षा विभागमार्फत देशनिकालाको प्रक्रियामा लगिएको छ ।
‘हामी यस घटनाबाट निकै चिन्तित छौं र गम्भीर जिम्मेवारीको भावना महसुस गरेका छौं । आवश्यक परे म स्वयं वासिङटन पुगेर वार्ता गर्न तयार छु,’ विदेशमन्त्री चो ह्युनले पत्रकार सम्मेलनमा भने । यसअघि, विदेश मन्त्रालयका प्रवक्ता ली जे–वुङले अमेरिकालाई आग्रह गर्दै आफ्ना लगानीकर्ताका आर्थिक गतिविधि र आफ्ना नागरिकको वैध अधिकारलाई अमेरिकी कानुनी कारबाहीका क्रममा अन्यायपूर्वक हानि पुर्याइनु नहुने बताएका थिए ।
छापा मारिएका दुवै कम्पनीले शनिबार जनाएअनुसार, पक्राउ परेका ४७ जना कम्पनीका कर्मचारी हुन्, जसमा ४६ जना दक्षिण कोरियाली र एक जना इन्डोनेसियाली नागरिक छन् । करिब २५० जना भने तेस्रो पक्ष ठेकेदारमार्फत खटाइएका थिए, जसमा अधिकांश दक्षिण कोरियाली रहेको कम्पनीले जनाएको छ । हुन्डाई मोटर कम्पनीले भने आफूहरूले सोझो सम्पर्कमा पक्राउ परेका कुनै पनि व्यक्तिलाई रोजगारी नदिएको भन्दै आफूहरू कारखाना निर्माणमा प्रत्यक्ष संलग्न नभएको पनि स्पष्ट पारेको छ ।
दक्षिण कोरिया अमेरिकामा आफ्ना कम्पनीहरूको विस्तारका लागि अर्बौं डलर लगानी गर्दै आइरहेको छ ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युंगले गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दै अमेरिकामा ३ सय ५० अर्ब डलरको लगानी गर्ने घोषणा गरेका थिए । अर्कोतर्फ, राष्ट्रपति ट्रम्पले भने कागजातविहीन आप्रवासीलाई देशनिकाला गर्ने प्रतिबद्धता जनाएका थिए । पछिल्लो छापा मारिएको घटनाले दुई देशबीचको व्यापारिक र कूटनीतिक सम्बन्धमा चुनौती खडा गर्न सक्ने ठानिएको छ ।