
काठमाडौँ । दुई वर्षदेखि थुनामा रहेका एमाले नेता टोपबहादुर रायमाझी, धरौटीमा छुटेका कांग्रेस नेता बालकृष्ण खाँणसहितका ३१ जना जोडिएको नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा संलग्न आरोपितहरूमाथि दायर मुद्दाको अन्तिम सुनुवाइ आजदेखि सुरु हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दुई वर्षदेखि विचाराधीन रहेको यो मुद्दा अब अन्तिम टुंगो लाग्ने चरणमा पुगेको हो ।
पछिल्लो समयमा साक्षी बयान र बकपत्रसम्बन्धी प्रक्रिया सकिएपछि अदालतले साप्ताहिक पेशी सूचीमा राख्दै आजदेखि अन्तिम बहस सुरु गर्ने भएको हो । ‘आजदेखि सुनुवाइ गर्ने भनिएको छ, कुनै कारण नआएमा पक्कै निरन्तरता पाउने र टुंगो लाग्ने अपेक्षा छ’ रायमाझीका कानुन व्यवसायीले भने ।
यसअघि तत्कालीन जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो । त्यसपछि केही अभियुक्त उच्च अदालतबाट धरौटीमा छुटे भने केही अझै थुनामै रहेका छन् ।
यो मुद्दामा अघिल्ला दुई वर्ष प्राथमिकता नपाए पनि २०८२ सालको वैशाखयता मात्रै शरणार्थी प्रकरणको मुद्दा १० पटक साप्ताहिक र १६ पटक पूरक पेशी चढिसकेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले १० जेठ २०८० मा ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको अभियोगसहित ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसयता यो प्रकरणमा पूरक मुद्दासहित ३१ जना प्रतिवादी बनेका छन् ।
गृहमन्त्री र गृहसचिवस्तरमै बिचौलियासँग मिलेर नक्कली शरणार्थी सूची बनाएको आरोपमा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहितका उच्चस्तरीय व्यक्तिहरू प्रतिवादी बनेका छन् । उनीहरूमाथि ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा दायर गरिएको हो ।
सुरुमा गजेन्द्र बुढाथोकीसहितको जाहेरीका आधारमा मुद्दा दायर गरिएको थियो । त्यसपछि ९ वैशाख २०८१ मा दाफुरी शेर्पासहितको जाहेरीका आधारमा सुरु मुद्दाकै प्रतिवादी केशव दुलालसहित पाँच जनामाथि पूरक मुद्दा दायर भयो । यस्तै, २९ साउन २०८१ मा बेचन झाविरुद्ध पनि अर्को पूरक मुद्दा दायर गरिएको थियो । यी सबै मुद्दालाई एउटै फाइलमा लगाऊ गरी सुनुवाइ अघि बढाइएको हो ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा प्रतिवादी बनाइएका मध्ये प्रमुख नाममा पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोरा सन्दीप रायमाझी, पूर्व गृहमन्त्री खाँण, तत्कालीन गृहसचिव पाण्डे, तत्कालीन सांसद शेर्पा, गृहमन्त्री थापाका छोरा प्रतीक थापा र सुरक्षा सल्लाहकार इन्द्रजित राईसहितका व्यक्ति छन् ।
त्यस्तै, शरणार्थी प्रकरणका बिचौलिया केशव दुलाल, दुलालकी पत्नी दीपा हुमागाईं, सानु भण्डारी, टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, हरिभक्त महर्जन र उनकी पत्नी लक्ष्मी महर्जन, राजेश अर्याल, विनीता सावदेन लिम्बु, सागर राई, आशिष र सुनिल बुढाथोकी, रामशरण केसी, सन्देश शर्मा, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजालसमेत छन् ।
यी सबैमाथि अब अदालतमा अन्तिम बहस सुरु हुने भएपछि लामो समयदेखि चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणको छिनोफानो हुने अपेक्षा गरिएको छ ।