
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नवारोले रुससँग तेल किनेर भारतका ब्राह्मणहरूले मुनाफा कमाइरहेको टिप्पणी गरेका छन् ।
उनले भारतका ब्राह्मणहरुको नाफाखोरी अमेरिकाले रोक्ने र युक्रेनविरुद्ध आक्रमणमा रुसलाई सहयोग बन्द गराउने बताएका छन् ।
ट्रम्प प्रशासनका व्यापार मामिला वरिष्ठ सल्लाहकार नवारोले फक्स न्युज सन्डेलाई दिएको अन्तर्वार्तामा भने- प्रधानमन्त्री मोदी एक महान् नेता हुन् । तर हामीले के बुझ्न सकिरहेका छैनौँ भने भारतीय नेताले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनफिङलाई किन सहयोग गरिरहेका छन् ? जबकि भारत आफैँमा विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएर तानाशाहको पक्षमा किन गयो ?
अमेरिकाले भारतमाथि रुसी तेल खरिद रोकाउन कर थोपरेपछि सम्बन्ध चिसिएका बेला ट्रम्पका सल्लाहकारको कडा बयान आएको हो । यसअघि राष्ट्रपति ट्रम्पले यदि रुससँग तेल खरिद कायमै राखे भारतले थप कर भोग्नुपर्ने बताएका थिए ।
सल्लाहकार नवारोले भने-‘म यति मात्र भन्न चाहन्छु, भारतीय जनताले बुझ्नुपर्छ कि यहाँ के भइरहेको छ ? केही भारतीय बाहुनहरूको नाफाखोरीका लागि नेतृत्व किन सँगै गइरहेको छ । यसलाई हामीले रोक्नै पर्छ ।