
काठमाडौँ । सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन भएको छ । शुक्रबार सिंहदरवारमा भएको वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान संघर्ष समितिले जनाएको छ ।
वार्तामा कृषि मन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका थिए भने संघर्ष समितिले आन्दोलन नरोकिने तर आन्दोलनको स्वरूप परिवर्तन गर्न सक्ने जवाफ दिएको थियो ।
वार्तामा आफूहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनुपर्ने माग राखेको समितिको भनाई छ । कृषि मन्त्रालयको वार्षिक बजेटमा नै २ अर्ब रुपैयाँ उखु किसान अनुदान दिने भनेर छुट्टाउँदा अर्थ मन्त्रालयले बजेट रोकेको समिति आरोप छ ।
समितिले शनिबार ११ बजे माइतीघरमा पत्रकार सम्मेलन गरी आन्दोलनको आगामी स्वरूपबारे जानकारी दिने उल्लेख गरेको छ ।
उखु किसानको ७५ करोड निकासा गरिसकेको अवस्थामा दशैं अघि नै अर्को ७५ करोड निकासा गर्नुपर्ने बटमलाइन उनीहरूको छ ।