
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२औं स्थापना दिवस शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको परिसरमा अवस्थित कभर्डहलमा विशेष कार्यक्रमका साथ मनाइदै छ। खेलकुदको विकास र संस्थागत सुदृढीकरणमा योगदान पुर्याउदै आएको यस संस्थाको स्थापनाको यो गौरवपूर्ण अवसरमा, राखेपका कार्यकारी सदस्य कमल भट्टराईले सम्पूर्ण खेल क्षेत्रलाई शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक संजाल फेसबुकमा शुभकामना सन्देश लेख्दै कार्यकारी सदस्यले भट्टराईले राखेपले स्थापना कालदेखि खेलाडीको क्षमता विकास, खेल पूर्वाधार विस्तार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र खेलमार्फत राष्ट्रिय एकता एवं अन्तर्राष्ट्रिय पहिचान कायम राख्न खेलेको भूमिकालाई स्मरण गरेका छन्।
विगत ६२ वर्षमा राखेपले अनेकौं चुनौतीहरू पार गर्दै खेलकुदलाई देशभर संस्थागत बनाउन उल्लेखनीय योगदान दिएको छ, जुन हामी सबैका लागि गौरवको विषय हो।उनले शुभकामना सन्देशमा लेखेका छन्।
उनले खेलकुदले राष्ट्रलाई अनुशासन, स्वास्थ्य, एकता र राष्ट्रिय गौरव प्रदान गर्ने भएकाले “खेलकुद राष्ट्रको पहिचान” भन्ने नारालाई आत्मसात गर्दै आगामी दिनमा अझ योजनाबद्ध, पारदर्शी र निष्ठावान ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनका अनुसार अबको प्राथमिकता भनेको खेल संरचना तथा पूर्वाधारलाई सबल बनाउनु, खेलाडीहरूको जीवनस्तर र भविष्य सुरक्षित गर्नु, विज्ञान–प्रविधिसँगै गुणस्तरीय प्रशिक्षण उपलब्ध गराउनु र अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्षमता प्रदर्शन गर्नु हो।
शुभकामना मन्तव्यको अन्त्यमा उनले खेलकुद क्षेत्रमा निरन्तर योगदान दिँदै आएका सम्पूर्ण खेल अगुवा, प्रशिक्षक, खेलाडी, सञ्चारकर्मी र खेलप्रेमीहरूलाई हार्दिक सम्मान र धन्यवाद पनि व्यक्त गरेका छन् ।