
काठमाडौँ- नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी नेता भएकै कारणले चारैतिरबाट प्रहार भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै मुलुकको समृद्धिको नेतृत्व गर्न सक्ने उच्च कद भएको नेता ओली मात्रै भएको बताए ।
उनले भने, ‘उहाँ राष्ट्रवादी र देशभक्त हुनुहुन्छ । मुलुकको समृद्धिको नेतृत्व गर्न सक्ने एउटा उच्च कद भएको नेतामाथि चारैतिरबाट प्रहार हुन्छ । यो सामान्य कुरा हो । यसमा चिन्ता मान्नुपर्ने कुरा छैन ।’
उनले काँग्रेस एमाले मिलेर स्थिर सरकार बनेपछि देश अगाडि बढेको जिकिर गरे । अस्थिरता चाहनेहरूले सुरुका दिनदेखि नै सरकार ढल्छ भनेर भ्रम चलाएको भए पनि ती सबै प्रयासहरू असफल भएको बताए । जनताको हितमा काम गर्नको लागि सरकारले महत्त्वाकांक्षी र ऐतिहासिक काम गरिरहेको पनि बताए ।