
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देउवा, ओली र दाहाललाई सबैभन्दा बढी माया गर्ने मध्येको एक आफू रहेको बताएका छन्। ‘नागरिक फ्रन्टलाइन’ को शृङ्खलामा कुरा गर्दै थापाले उनीहरूको स्वास्थ्य र हितको लागिय उनीहरूले विश्राम लिए राम्रो हुने सुनाए ।
‘नेपालका तीनजना नेता (शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल) लाई सबैभन्दा बढी माया गर्ने मान्छेमध्ये एक म हुँ,’ थापा भन्छन्, ‘उहाँहरूले विश्राम लिएमा त्यो उहाँहरूको पनि हितमा छ र उहाँहरूको स्वास्थ्य पनि राम्रो हुन्छ।’
उनीहरूका कारणले २००७ साल, २०४७ सालको आन्दोलनसमेत बदनाम हुने अवस्था भइसकेको उनले सुनाए । ‘पुराना सबै खराब, सबै खत्तम, यिनले केही गरेनन् भन्ने नागरिक यी तीन नेताहरूबाट वाक्क दिक्क भएका छन्, जुन एकदम स्वाभाविक हो,’ उनले थपे, ‘२५/३० वर्षदेखि २ जना व्यक्ति आलोपालो प्रधानमन्त्री हुने यस्तो पनि हुन्छ? सामान्यतः डेमोक्रेसीमा यस्तो हुँदैन। यस्तो हुनु हाम्रो दुर्भाग्य हो। यस कारण पनि समाजको ठुलो तप्का कांग्रेस, एमाले र माओवादीसँग रिसाएको अवस्था छ।’