
काठमाडौं । अष्ट्रेलिया टुरमा रहेको नेपाली टोलीले साउथ अष्ट्रेलियनलाई १४७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पहिलो अभ्यास खेलमा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको हो ।
नेपालका लागि सार्कीले सर्वाधिक ३२ रन बनाए । ओपनर आशिफ शेखले १३ बलमा २२ रन बनाए। दिपेन्द्र सिंह ऐरीले २६ र आरिफ शेखले २१ रन बनाए । सोमपाल कामी १८ र सन्दीप लामिछाने ५ रनमा अविजित रहे । अन्य ब्याटरले पनि दोहोरो अंकको रन बनाउन सकेनन् ।
साउथ अष्ट्रेलियाको लागि बलिङतर्फ टि ब्राउन र एच मानिन्ती ले समान २–२ विकेट लिए । एम सि फेडेन र मिनिजले १÷१ विकेट लिए । नेपालले यसअघि डार्विनमा टप एन्ड टी २० सिरिज खेलेको थियो ।
जसमा नेपालले १० टिमबीच भएको प्रतिष्पर्धामा दुई खेल जित्दै आठौं भएको थियो । नेपालले दोस्रो टी २० शुक्रबार खेल्नेछ । त्यस्तै नेपालले शनिबार साउथ अष्ट्रेलियासँग एक दिवसीय अभ्यास खेल खेल्नेछ ।