
काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा लगानीमैत्री वातावरण बनाउन देखिएका नीतिगत एवं कानुनी जटिलता हटाउन मौजुदा १० वटा ऐनको संशोधन एवं परिमार्जन गर्न लागिएको छ ।
लगानीमैत्री वातावरण बनाउनका लागि निजी व्यवसाय दर्ता ऐन २०७६, कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन ऐन २०७५, प्रादेशिक औद्योगिक व्यवसाय ऐन २०७५, सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात व्यवसाय ऐन २०७५ प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७९ का कतिपय दफा उपदफालाई संशोधन वा परिमार्जन गर्न लागिएको हो ।
यसैगरी, प्रदेश स्वरोजगार विकास कोष ऐन २०७५, सहकारी ऐन २०७५, साझेदारी व्यवसाय ऐन २०७६, सुदूरपश्चिम बीउबिजन ऐन २०७७ र सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन २०७७ (पहिलो संशोधन) सुदूरपश्चिमका कतिपय दफा उपदफालाई पनि संशोधन वा परिमार्जन गर्नुपर्ने देखिएको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको सचिवालयका विज्ञ सदस्य पुष्पराज उपाध्यायले जानकारी दिए।
यी ऐनमा रहेका कानुनी बाधा पहिचान गरी आवश्यक संशोधन सिफारिस गर्न विभिन्न छलफल तथा बैठक सम्पन्न भइसकेका छन् ।
लगानीमैत्री वातावरणका लागि सुदूरपश्चिम प्रदेशमा प्रभावकारी साझेदारी ढाँचा (पिपिपी) निर्माणका लागि छुट्टै ‘सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन’ ल्याउन लागिएको छ । यसका लागि मस्यौदा तयार गर्ने काम भइरहेको छ ।
प्रदेश सभाको बैठकबाट वा त्यो सम्भव नभए संकल्प प्रस्तावबाट र अध्यादेशमार्फत भए पनि संशोधनको प्रक्रियामा लैजाने तयारी गरिएको छ ।
यसको तयारीका क्रममा प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीको संयोजकत्वमा गठन गरिएको नीति तथा कानुन अध्ययन तथा सिफारिस उपसमितिले निरन्तर काम गरिरहेको छ ।
विज्ञ सदस्य उपाध्यायले सम्मेलनका लागि प्रदेशका पालिका तहबाट सम्भावित योजनाको प्रस्ताव माग गरिएकामा आएका योजनाहरू सम्भाव्य भए/नभएकाबारेको विस्तृत अध्ययन भइरहेको बताए ।
उनले भने, “सम्मेलनमा सुदूरपश्चिम प्रदेशमा लगानी गर्न मिल्नेखालका योजनाको प्रस्ताव पेस गरिनेछ, लगानीकर्ता भने प्रदेशभित्रकै वा बाहिरका पनि हुन सक्छन् ।”
लगानी तथा विकास सम्मेलनको आयोजनाबाट प्रदेशको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि कोशेढुंगा साबित हुने विश्वास गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव आमोद दाहालले केन्द्रको कानुनसँग नबाझिने गरी प्रदेशका मौजुदा कानुनलाई लगानीमैत्री बनाएर सहजीकरण गर्न लागिएको बताए ।
प्रदेश सरकारले आगामी असोज १ र २ गते आयोजना गर्ने भनेको लगानी तथा विकास सम्मेलन अब आगामी मङ्सिर १ र २ गते गर्ने तयारी भइरहेको छ । सम्मेलनको तयारीका लागि गर्नुपर्ने पूर्वतयारीका लागि थप समय चाहिने भएकाले मङ्सिरमा आयोजना गर्ने निधो गरिएको हो ।
प्रदेशमा धार्मिक पर्यटन, जलस्रोतको उपयोग, स्थानीय कच्चापदार्थमा आधारित उद्योग स्थापना, जडीबुटीको प्रशोधन तथा प्रवर्द्धनलगायत क्षेत्रमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहे पनि आवश्यक लगानीमैत्री वातावरण नहुँदा विकास हुन सकेको छैन ।