
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार स्थानान्तरण गर्ने निर्णय भएको छ। कारागार व्यवस्थापन विभागले शुक्रबार रुपन्देही कारागारलाई पत्र पठाउँदै लामिछानेको आफ्नै निवेदनअनुसार सरुवाको निर्णय गरेको हो।
हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका लामिछानेले यसअघि नै कारागार परिवर्तनको लागि निवेदन दिएका थिए। विभागले आजै निर्णय गरेर पत्र पठाएको कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माले प्रशासनसँग बताएका छन्।
शर्माका अनुसार, लामिछानेले मन्जुरीनामा स्पष्ट रूपमा नक्खु कारागारमा पठाउन अनुरोध गरेका थिए, जसअनुसार विभागले निर्णय गरेको हो। “उहाँले यसअघि नै लिखित मन्जुरीनामा नक्खु कारागारमा पठाउन अनुरोध गर्नुभएको थियो। त्यसैअनुसार हामीले निर्णय गरेर पठाएका हौँ,” शर्माले बताए।
अब रुपन्देही कारागार प्रशासनले आवश्यक सुरक्षा प्रबन्धसहित उनलाई काठमाडौँस्थित नक्खु कारागारमा ल्याउने तयारी गर्नेछ।
गृहमन्त्री रमेश लेखकले गत बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा लामिछानेलाई कारागार स्थानान्तरणको प्रक्रिया अघि बढिरहेको जानकारी दिएका थिए।