
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच आज कार्यगत एकताको घोषणा हुने भएको छ ।
नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा ती दुई दलले कार्यगत एकताको घोषणा गर्न लागेका हुन् ।
चाँडै नै यी दुई दलबीच एकता हुने बताइएको छ । दुवै पार्टीको मूल कमिटी तथा शीर्ष नेताहरूको बिचमा एकताको लागि सहमति भइसकेको छ ।
तल्लो तहमा पनि यसबारे छलफल गराएर एकता प्रक्रियालाई अगाडि बढाउने तयारी भइरहेको एक नेताले बताए । कार्यगत एकता भएपछि संयुक्त रूपमा प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म कार्यक्रम जान्छ र त्यही कार्यक्रममार्फत एकताको लागि छलफल हुने बताइएको छ ।
कार्यगत एकताको घोषणा भएपछि दुवै दलले जनपरिचालनका कार्यक्रमहरू सञ्चालन गर्ने र दुवै दलबिच एकताको पक्षमा जनमत सिर्जना गर्ने सहमति भइसकेको छ । यसका लागि जनप्रदर्शन, आमसभा, सेमिनार र गोष्ठी आदिजस्ता कार्यक्रमहरू गर्ने तयारी दुवै दलको छ ।