काठमाडौँ । कुलिङ अफ पिरियड सम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवार किटान गरेका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । कुलिङ अफ पिरियडको गडबडी छानबिन विशेष समितिले खतिवडालाई किटान नै गरेर जिम्मेवार ठहर गरेको थियो ।
छानबिन समितिको प्रतिवेदनले सभापति खतिवडाका बारेमा भनेको छ, ‘परिमार्जित मस्यौदा प्रतिवेदन समितिका माननीय सदस्यहरूलाई देखाई छलफल गरी सभामा पेस गर्नु पर्नेमा सो नगरी निश्चित व्यक्तिहरूबीच अनौपचारिक बैठक बसी मिति २०८२/०२/१३ मा प्रतिवेदन पठाएको देखिँदा माननीय सभापतिको समन्वयकारी भूमिकामा कमी भएको देखियो ।’
प्रतिवेदन सभापतिको हस्ताक्षरबाट सभामा पेस भएको देखिँदा कानुनतः हस्ताक्षरकर्ताको हैसियतले मस्यौदामा देखिएको गम्भीर त्रुटिका सम्बन्धमा समितिको मुख्य जिम्मेवारीमा रहेको सभापतिले ‘उत्तरदायी पूर्ण भूमिका वहन गरेको देखिएन’ भन्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।