काठमाडौँ । कैलाली कारागारमा भएको घटनाको झन्डै ४२ घण्टा पछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा संयन्त्रको बैठक डाकेका छन् ।
अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीसहित चार वटै सुरक्षा निकायका प्रमुखहरूको बैठक बसिरहेको हो ।
शुक्रबार राति कैलाली कारागारमा कुटपिट हुँदा १ जानको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । घाइते एक जनालाई रेफर गरिएको छ ।
घटनाको ४० घण्टा पछि मानवअधिकार आयोगको टोलीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले घटनास्थलको निरीक्षण गरिसकेको छ । १५० कैद बन्दी क्षमता रहेको कारागारमा ७०० बन्दी छन् । मानवअधिकार आयोगको टोलीले गणना गर्दा सबै सङ्ख्या मिलेको छ ।
प्रदेशमा ठुला घटना हुँदा पनि मुख्यमन्त्रीले चासो नदिएको आरोप लागिरहेका बेला आइतबार साँझ मुख्यमन्त्रीले सुरक्षा संयन्त्रको बैठक राखेका हुन् ।
कानून मन्त्रीसहित सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्मर विक, सशस्त्र प्रहरी प्रमुख प्रदीप पाल, नेपाली सेनाका पृतनापति प्रकाश देउजा कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल अनुसन्धानका प्रदेश प्रमुखसहितका अधिकारीहरू छन् ।
मानव अधिकार आयोग सुदूरपश्चिम प्रमुख प्रकाश भट्ट पनि बैठकमा केही बेर सहभागी थिए । उनले कारागारको अवस्थाबारे जानकारी गराएका थिए ।