काठमाडौँ- नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा गरिएको छ । विद्युत् आपूर्ति कटौतीको सूचना सार्वजनिक गर्दै लोडसेडिङको झल्को दिने शैलीमा सूचना जारी गरेपछि श्रेष्ठको सरुवा गरिएको हो ।
प्राधिकरणले श्रेष्ठलाई पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीस्थित वितरण केन्द्रमा पठाएको छ । श्रेष्ठको सरुवा कर्मचारी सेवा सर्त विनियमावली, २०७५ को विनियम ४९ को उपविनियम १ को खण्ड (ग) अनुसार गरिएको प्राधिकरणले जनाएको छ ।
गत साउन १० गते चनौली वितरण केन्द्रले विद्युत् आपूर्ति कटौतीको सूचना जारी गर्दै लोडसेडिङ तालिका झैँ तालिका सार्वजनिक गरेपछि प्राधिकरण आलोचनाको केन्द्रमा परेको थियो । मागअनुसार विद्युत् आपूर्ति हुन नसकेको जनाउँदै उक्त सूचना जारी गरिएको थियो । तर यसले प्राधिकरणकै विगतको लोडसेडिङ कालको सम्झना दिलाएको भन्दै सेवा उपभोक्तासहित आमसञ्चार माध्यममा तीव्र आलोचना भएको थियो ।