काठमाडौँ- सांसद अम्बर बहादुर रायमाझीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयकले मुलुकको खेल क्षेत्रको संस्थागत विकास, संरचनात्मक सुधार तथा भावी पुस्ताको प्रतिभा अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा विधेयकको सैद्धान्तिक पक्षमाथि बोल्दै सांसद रायमाझीले युवा पुस्तालाई प्रोत्साहन गर्न विधेयकले लिएको बाटो स्वागतयोग्य रहेको उल्लेख गरे। उनले भने, “आजको युग प्रतिस्पर्धाको युग हो। हाम्रा खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम भए पनि खेल क्षेत्रमा आवश्यक पूर्वाधार, प्रशिक्षण, पोषणलगायत आधारभूत व्यवस्था नहुँदा उनीहरू पलायन र विस्थापित हुने अवस्थामा पुगेका छन्।”
खेल क्षेत्रको समग्र विकासका लागि राष्ट्रिय खेल नीतिलाई सुदृढ ढंगले कार्यान्वयन गर्ने, संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक ढंगले अगाडि बढ्ने कुरालाई विधेयकमा समेटिनु सकारात्मक पक्ष भएको उनले उल्लेख गरे।
तर उनले विधेयकका केही प्रावधान अझ स्पष्ट हुनुपर्ने आवश्यकता औँल्याए। विद्यालय, स्थानीय तथा सामुदायिक तहमा खेलकुदको विकास प्रभावकारी हुने भएकाले विधेयकले ती तहमा आधारित भएर कार्यक्रम सञ्चालन तथा प्रतिभा पहिचानलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने रायमाझीको भनाइ थियो।
स्थानीय तहबाटै खेलाडीको पहिचान गरी उनीहरूलाई प्रतिस्पर्धामा सहभागी हुने अवसर सुनिश्चित गर्नुपर्ने उनले बताए। सांसद रायमाझीले खेलकुदलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने, खेल पूर्वाधारको विकासमा विशेष जोड दिनुपर्ने, खेलाडीलाई नियमित पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध गराउनुपर्ने, साथै खेलकुद क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्नुपर्ने सुझाव पनि दिए।