
काठमाडौं- कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून नल्याइने प्रतिवद्धता जनाएका छन् । नेपाल महिला संघले आइतवार मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
सरकारले गलत सम्बन्धबाट गर्भ रही जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानून संशोधन गर्न लागेको उनले स्पष्ट पारे । यसमा पुरुष वा महिला जोकोही दोषी पाइए उसलाई कारबाही गरिने गरी कानून निर्माण गर्न लागेको उनले बताए ।
मन्त्री चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून ल्याउन नलागेको स्पष्ट पारेका हुन् । उनले आफ्ना पनि घरमा छोरीहरू रहेको भन्दै महिलालाई गाह्रो हुने गरी कानून नबनाउने प्रतिवद्धता जनाए । शब्दबाट कुनै गलत अर्थ लाग्ने रहेछ भने त्यो संशोधन गर्न सरकार तयार रहेको उनको भनाइ छ ।
गलत सम्बन्धबाट जन्मिएका सन्तानको हकमा केही कानून बनाउन आवश्यक नरहेको भए सरकारले नबनाउने पनि उनले स्पष्ट पारे । कानुनको मस्यौदा मन्त्रिपरिषद्को समितिमा छलफलका क्रममा रहेको र पूरा तयार भइनसकेकाले सरकारको धारणा हो भनेर प्रचार नगर्न आग्रह गरे ।
‘जुन मस्यौदा तयार भएको छ, त्यसमा बहुविवाहको कुरा छैन । गलत सम्बन्धबाट (गलत नै भनौँ, महिलाले पुरुषलाई र पुरुषले महिलालाई ढाँटेको सम्बन्धबाट) गर्भ रहन गएको अवस्थामा त्यो बालअधिकारको लागि कानुनमा संशोधन भएको छ,’ मन्त्री चौरसियाले भने, ‘त्यो संशोधनले वा त्यो संशोधन गर्न नपर्ने हो भने त्यो पनि हटाइदिउँ । पुरुषले ढाँटेर महिलासँग सम्बन्ध राखेको मात्रै होइन महिलाले पनि ढाँटेर पुरुषसँग सम्बन्ध राखेको भए दुवै कानुनको भागिदार बनाउने गरी कानून बनाउने हो ।’
मस्यौदा मन्त्रिपरिषद्को समितिमा छलफलका क्रममा रहेको र पूरा तयार नभइसकेकाले सरकारको धारणा हो भनेर प्रचार नगर्न पनि आग्रह गरे । गलत सम्बन्धबाट जन्मिएको सन्तान र श्रीमतीलाई सम्बन्धित व्यक्तिले स्वीकार गर्न चाहे स्वीकार्न सक्ने व्यवस्था कानुनमा राखिएको भन्दै समाचारहरू प्रकाशन भएका छन् ।