
काठमाडौँ । कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्लले निरन्तरता पाएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा मल्ललाई नियुक्त गरेको कर्णाली याक्स स्पोट्र्सका निर्देशक गृहेन्द्र घिमिरेले जानकारी दिए।
पहिलो संस्करणमा पाएको सफलताले पनि सहकार्यलाई निरन्तरता दिन पाउनु खुशीको कुरा रहेको निर्देशक घिमिरेले बताए।
पहिलो संस्करणमा पनि मल्ल कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशक थिए। सम्झौता अवधि एक वर्षको हुनेछ । २०८१ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म भएको प्रतियोगितामा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।
कर्णाली याक्सले दोस्रो संस्करणका लागि मार्की खेलाडीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ। कर्णाली याक्सले मार्की सोमपाल कामीसहित गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको हो।
अघिल्लो सिजन भारतीय चर्चित ओपनर शिखर धवन अनुबन्ध गरेको कर्णाली याक्सले यो सिजन पनि चर्चित खेलाडी अनुबन्ध गर्दै बलियो दाबेदारी दिने जनाएको छ।
नियुक्तिसँगै प्रशिक्षक मल्लले जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै दोस्रो संस्करण काम गर्न उत्साहित भएको बताएका छन्।