काठमाडौँ । काठमाडौँबाट दाङ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको चन्द्रौटा इमिलिया सडक खण्डमा पर्ने बेलनदी नजिकै बस दुर्घटना हुँदा २९ जना घाइते भएको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँबाट दाङतर्फ जाँदै गरेको बस अनियन्त्रित भई दुर्घटना भएको हो । घाइतेहरूमध्ये २८ जनाको स्थानीय अस्पतालमा र गम्भीर घाइतेको थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।