
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले संसदीय समितिका सदस्यको जिम्मेवारी हेरफेर गरेको छ।
यसअघि कृषि, सहकारी र प्राकृतिक स्रोत समितिमा रहेका दिक्पालकुमार शाहीलाई महिला र सामाजिक मामिला समितिमा पठाइएको छ।
सांसद विष्णुकुमार कार्की कृषि समितिबाट पूर्वाधार विकास समितिमा, प्रतिमा गौतमलाई पूर्वाधार समितिबाट कृषि समितिमा र आशा विकलाई महिला र सामाजिक मामिला समितिबाट कृषि समितिको जिम्मेवारी दिइएको छ।
संसदीय समितिका सदस्यको जिम्मेवारी हेरफेर गर्ने प्रस्तावलाई आजको सभाले सहमति जनाएको छ।
यस्तै, सञ्चार र सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ चीनको सांघाईमा आयोजना हुने ‘कृत्रिम बौद्धिकता सम्मेलन-२०२५’ मा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरेका कारण उक्त मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई तोकिएको छ।
उक्त कार्यभार तोकिएको विषयमा प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयले आज सदनलाई जानकारी गराएको हो।