
काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठकले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।
विधेयकका सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री सुडीले विधेयक महत्त्वपूर्ण रहेको र यसमा आवश्यक सुधार भए समेटेर अघि बढाउने विश्वास व्यक्त गरे ।
विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसदहरु वासुदेव घिमिरे, दामोदर पौडेल वैरागी, नागिना यादव, बिजुला रायमाझी, सराज अहमद फारुकी, जनार्दन शर्मा, विमला सुवेदी, प्रतीक्षा तिवारी, भगवती चौधरी, ठाकुर गैरे, रामप्रकाश चौधरी, नारायणी शर्मा, सुशीला श्रीपालि ठकुरी, प्रेम सुवाल, हर्कमाया विश्वकर्मा, रणकुमारी बलम्पाकी मगर, रुपा सोशी (चौधरी), रमा कोइराला पौडेल, जावेदा खातुन जागा र रणेन्द्र बराली सहभागी भए ।
आजको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
यसअघि बैठकमा सभामुखको आसनबाट सांसद दुर्गा राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।
प्रतिनिधि सभाको अर्को बैठक यही साउन ९ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।