
काठमाडौँ- मंगलबार सेयर बजार ८०.९७ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २९७३.७० अंकमा पुगेको छ । नेप्सेको यो अंक गत वर्षको ३० साउनयताकै उच्च हो । गत ३० साउनमा नेप्से ३ हजार अंक पुगेको थियो ।
कारोबार सुरु भएदेखि बजार अन्तिम समयसम्म उकालो लागिरह्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज २० अर्ब ८ करोडको भयो ।
२३६ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो । यस दिन तीन समूह ४ प्रतिशतभन्दा धेरै बढे । उत्पादन तथा प्रशोधन ४।६३, जीवन बीमा ४.३६ तथा माइक्रोफाइनान्स ४.०७ प्रतिशत बढे ।
बैंकिङ २.१०, विकास बैंक २.२६, फाइनान्स १.९४, होटेल तथा पर्यटन ३.४४, हाइड्रोपावर १.९०, लगानी ३.२४, निर्जीवन बीमा २.५६, अन्य ३.२६ तथा व्यापार १.०१ प्रतिशत बढे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा ट्रेड टावर, सान्भी इनर्जी र शिवम् सिमेन्ट छन् । ट्रेड टावर र सान्भी इनर्जी नयाँ कम्पनी हुन् । आजको कारोबारपछि ट्रेड टावरको मूल्य ५३५ रुपैयाँ ८० पैसा पुगेको छ भने सान्भी इनर्जीको ४७७ रुपैयाँ ७० पैसा पुगेको छ ।