
काठमाडौँ- १० वर्षपछि नेकपा एमालेको राजनीतिमा पुनः क्रियाशील भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सो हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्ने भएकी छन् ।
पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइने भएको छ ।
उनले शनिवार सभा गृहबाटै सो घोषणा गर्ने भनिए पनि स्टन्टबाजी नगर्ने भन्दै गृह मन्त्रालयलाई पत्र पठाएर फिर्ता गर्न लागिएको निकट स्रोतले जनाएको छ ।
भण्डारीनिकट स्रोतले भन्यो–धेरै नेता कार्यकर्ताले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्ने क्रममा सेवा सुविधा फिर्ताको जानकारी पनि गराउन भनेका थिए । तर उनले त्यो सस्तो प्रचार र स्टन्टबाजी हुने भन्दै सरकारको सम्बन्धित निकायलाई पत्र पठाएर फिर्ता गर्ने चाहना राखेकाले सोही अनुसारको प्रक्रिया अघि बढेको छ ।
भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ । रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई स्वकीय सचिवका रूपमा कार्यरत छन् ।
त्यस्तै पूर्व राष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा लिइएको छ । भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ ।
पूर्व राष्ट्रपति भण्डारीले अरू पदाधिकारीले जस्तो गाडी सुविधा नलिएको तर २०७ लिटर पेट्रोल मासिक रूपमा उपलब्ध गराइएको छ । त्यस्तै सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराउने गरिएको गृहले जनाएको छ ।