
काठमाडौँ। संघीय निजामती विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। आइतवार बसेको प्रतिनिधिसभाको बैठकबाट ‘संघीय निजामती सेवा विधेयक, २०८२ ’ पारित भएको हो।
पास भएको विधेयकले निजामती सेवाबाट अवकासपछि अर्को नियुक्तिका लागि समय अन्तर ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरेको छ। संसद्मा बोल्ने अधिकांश सांसद्हरूले कुलिङ पिरियड राख्ने व्यवस्था सकारात्मक भएको बताएका थिए। विधेयक पारित हुने अन्तिम समयपर्यन्त पनि यसमाथि विवाद थियो। उच्च प्रशासकहरूले कुलिङ पिरियड हटाउन ठूलो कसरत गरे पनि त्यो विफल भएको छ।
त्यस्तै, निजामतीको अनिवार्य अवकास उमेर ६० वर्ष कायम भएको छ। अतिरिक्त सचिवको नयाँ व्यवस्था पनि विधेयकमा छ।
संविधान जारी भएपछि संविधानसँग मिल्नेगरी निजामती सेवा ऐन जारी हुन सकेको थिएन। एक दशकपछि प्रतिनिधिसभाबाट विधेयक पारित भएको छ।
सरकारले २१ फागुन ०८० मा विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो।
प्रतिनिधिसभाले छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो। लामो छलफलपछि समितिले गत २ जेठमा सर्वसम्मतीले विधेयक पारित गरेको थियो। लगभग समितिले पारित गरेबमोजिम नै प्रतिनिधिसभाबाट विधेयक पारित भएको छ।
समितिले विधेयक पारित गरेपछि प्रतिवेदन संसद्मा पठाइएको थियो। अन्ततः प्रतिनिधिसभाबाट विधेयक पारित भएको छ।