
म्याग्दी । मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि यस वर्ष जिल्लाका पाँच वटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहद्वारा पोखरी निर्माण गरिएको हो ।
पानी र आहराका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनजङ्गल क्षेत्रमा रोक्ने उद्देश्यले पोखरी निर्माण गरिएको डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारीले बताए ।
“पानी र आहाराको खोजीमा वन्यजन्तु मानवबस्तीमा नआउन् भनेर यसअघि जङ्गलमा पोखरी निर्माण थालिएकामा उक्त कार्यक्रम प्रभावकारी बनेपछि पछिल्लो तीन वर्षयता यसलाई निरन्तरता दिएका छौँ”, उनले भने, “वनमा सहज रूपमा पानी र आहारा पाएपछि वन्यजन्तु मानवबस्तीमा नआउन भएकाले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा सहयोग पुगेको छ ।”
अन्नपूर्ण गाउँपालिका–७ को दोसल्ले सल्लेरी, रघुगङ्गा–६ को मनिबराह, मङ्ला–१ को चण्डिकागैरा, मालिका–३ को बराहताल र बेनी नगरपालिका–१ को कमेरे झ्याउले सामुदायिक वनमा यस वर्ष पोखरी निर्माण गरिएको सहायक वन अधिकृत विनयबहादुर अधिकारीले जानकारी दिए। उनका अनुसार ६१ दशमलव ७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका पोखरीबाट ६१ हजार लिटर पानी उपलब्ध हुन्छ ।
प्रतिपोखरी निर्माणका लागि कार्यालयले समूहलाई रु एक लाख अनुदान सहयोग गरेको छ । यसअघि आव २०७८/७९ मा १०, आव २०७९/८० मा छ र आव २०८०/८१ मा १० गरी २६ वटा पोखरी निर्माण भइसकेका छन् ।
बराहताल सामुदायिक वनका अध्यक्ष धनबहादुर रोकाले वनमा निर्माण गरिएका पोखरीले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै जङ्गलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेको बताए ।
जिल्लामा पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु वन नजिकको मानवबस्तीमा आएर क्षति पुर्याउन थालेका छन् । यसरी बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्दछन् ।