
काठमाडौँ- शिक्षा समितिले निजी विद्यालयको विषय टुङ्गो लगाएको छ । समितिका सभापति अम्मरबहादुर थापाले गरेको प्रस्ताव बैठकले पारित गरेको हो । निजी विद्यालय सेवामुलक, लोक कल्याणकारी र गैरनाफामुलक बनाएर जाने गरी सञ्चालन गर्ने विषय सर्वसम्मतिबाट पारित भएको छ ।
अब विद्यालय शिक्षा विधेयकमा निजी विद्यालय सञ्चालन कम्पनीमार्फत वा गुठीमा जान सकिने व्यवस्था गर्न लागिएको छ। बैठकले गुठीमार्फत सञ्चालन हुने निजी विद्यालयको हकमा विभिन्न सहुलियत दिने प्रस्ताव पारित गरेको छ ।
शिक्षामन्त्री रघुजी पन्तले राज्यले निजी विद्यालयलाई निषेध गरेर जाने स्थिति नरहेको बताए थिए । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको शुक्रबारको छलफलमा उनले यस्तो बताएका हुन् ।
‘राज्यले निजीलाई निषेध गर्ने होइन । सार्वजनिक शिक्षा राम्रै भयो भने निजीबाट विद्यार्थी झिकेर ल्याउँछन् ।
राज्यले निजीलाई निषेध गरेर जाने स्थिति छैन । उनीहरूको लोन, जग्गा जमिनको कुरा आउँछ,’ उनले भने, ‘कानुनमा त्यही कुरा लेखौं, त्यो कार्यान्वयन हुन्छ । कानुनमा लेखेर राज्यको दायित्व पूरा हुँदैन । हाम्रो नियमन गर्ने कुरा अहिले उपसमितिले प्रस्ताव गरेको छ ।
त्यसलाई सरकारले एसेप्ट गरेको छ ।’ उनले भने, ‘शिक्षा क्षेत्र नाफा नखाई त आउँदैन । त्यहाँ नाफा धेरै नखाऔं भन्ने हो । कतिपय विद्यालयले करोडौं लोन लिएको छ । त्यो त राज्यले तिर्न सक्दैन ।’
केही वर्षअघिसम्म राम्रो विद्यालय नहुँदा भारत जानुपर्ने बाध्यता रहेको भन्दै उनले भने, ‘अहिले पनि यही पैसा खर्च गरेर पढ्छु भन्नेलाई रोक्ने कि नरोक्ने ? राज्यको अनिवार्य तथा निःशुल्क शिक्षा आवश्यक भएकलाई मात्रै हो ।
अर्बपतिको छोरी आउँछ भने उसले निःशुल्क पढ्न पाउँछन् । निजी क्षेत्रलाई छाडौं तर, अनियन्त्रित होइन ।’ नियमनका कडाइ गर्नुपर्ने भन्दै गुठीमा जान्छ भने पनि जान दिनुपर्ने उनको भनाइ थियो । राज्यको ध्यान सार्वजनिक शिक्षामा हुनुपर्ने भन्दै उनले शिक्षालाई कसरी गुणस्तर बनाउने भन्ने तिर लाग्नुपर्नेमा जोड दिए ।
उनले अगाडि भने, ‘१५ असारसम्म संसद् सिरियस छ भन्ने देखिन्छ । म पनि साक्षी बसेको छु । रातभरि भए पनि बसौं । १५ असारभित्रको डेटलाइन भित्र बसौं । नियमन गर्ने कुरामा सरकारको सहमत छ ।’