
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले निजी विद्यालयलाई नयाँ मापदण्ड अनुसार अघि बढाउनुपर्ने तर्क गरेकी छिन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
‘निजी खोल्न दिने कि नदिने ? भन्ने प्रश्न छ । भैरहेकोलाई के गर्ने ? शिक्षालाई गैरनाफामूलक बनाउने हो,’ सांसद श्रेष्ठले भनेकी छिन्, ‘जुत्ता बेचेजस्तो मुनाफा गर्न हुँदैन । संविधानको स्प्रिट नबोक्ने हो भने संविधान चेन्ज गरौँ ।’
‘निजीलाई नयाँ मापदण्ड अनुसार अघि बढाउनुपर्छ । १५ वर्षपछि क्रमशः गैरनाफामूलक लोककल्याणकारी हुने बनाउनु पर्छ,’ उनले भनिन् ।
त्यसका लागि समय सीमा नै तोकेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
‘एउटा समय सीमा तोकेर जाऔँ । १५ वर्षमा निजीलाई राष्ट्रियकरण होइन गैरनाफामूलक बनाऔँ,’ समिति बैठकमा श्रेष्ठले भनिन् ।