
काठमाडौं । नेपाली संगीत बजारमा प्रेम, आशा र वियोगको त्रिकोणात्मक भाव बोकेको एक नयाँ गीत ‘तारा जुनैले’ सार्वजनिक भएको छ । गायक ईश्वर सिंह र गायिका रितु कँडेलको सुमधुर स्वरमा सजिएको यो गीतले दर्शक तथा श्रोताको मन जित्न थालेको छ ।
गीतकार शिव हमालको शब्द रचनाले गीतको भावनात्मक गहिराइलाई बलियो बनाएको छ भने स्वयं गायक ईश्वर सिंहको संगीतले त्यसलाई जीवन्त धुन दिएको छ । विशेषगरी, नेपाली संगीतका चर्चित एरेन्जर आशिष अविरलको संगीत संयोजनले गीतलाई आधुनिक र कर्णप्रिय बनाएको छ ।
उनको मिक्सिङ र मास्टरिङले गीतको अडियो पक्षलाई अन्तर्राष्ट्रिय स्तरको सुन्न सकिने बनाएको छ । गीतको अडियो राग स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतको अडियो जति सशक्त छ, यसको भिडियो पनि उत्तिकै कलात्मक बनेको छ । निर्देशक बिनोद भण्डारीले गीतको मर्मलाई पर्दामा उतार्न सफल भएका छन् । अभिनेता अनिल पौडेल र अभिनेत्री जुना गुरुङको जीवन्त अभिनयले प्रेम र विछोडको कथालाई दर्शकले महसुस गर्न सक्ने बनाएको छ । उनीहरूको रोमान्टिक र भावनात्मक दृश्यले गीतको भावलाई अझ गहिरोसँग प्रस्तुत गर्छ ।
दिनेश पराजुलीको सुन्दर छायांकन, मनोज कार्कीको तिखो सम्पादन र अनिमेशको मेकअपले भिडियोलाई प्राविधिक रूपमा अब्बल बनाएको छ । गोधुली क्रिएशनले सम्हालेको पोस्ट-प्रोडक्सनले भिडियोलाई पूर्णता दिएको छ ।