
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । नेताहरूबीच सिंहदरबारमा छलफल भएको हो । भेटमा अध्यक्षद्वयसँगै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ सहभागी थिए । त्यस्तै नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता वेदुराम भुसाललगायत नेता पनि छलफलमा सहभागी थिए ।
‘दुई दलका नेताहरू आज छलफलमा बसेका थियौँ,’ नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता भुसालले भने, ‘संसद्मा भइरहेको गतिविधि, विचाराधीन विधेयक, बजेटलगायतका विषयमा कुरा भयो।’ नेताहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । छलफलमा सरकारले हिजो गठन गरेको भिजिट भिसा प्रकरणमा छानबिन गर्न बनेको समितिबारे छलफल भएको नेकपा एसका नेता राजेन्द्र पाण्डेले बताए ।
उनले भने, ‘भिजिट भिसाबारे हामीले संसदभित्र पनि संघर्ष गर्यौं । अहिले समिति बनाएको छ सरकारले, संसदभित्रको गतिविधिकोबारे दुई दलबीच छलफल भयो ।’ माओवादी र नेकपा एससहित दुई दलबीच भएको सहमति अनुसार सरकारले हिजो शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गरेको थियो । तर, यो समितिप्रति रास्वपा र राप्रपाले असन्तुष्टि राख्दै आज पनि सदन अवरोध र बहिष्कार गरेका छन् ।