
काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले देशभित्र भविष्य खोज्ने अभियानलाई तीव्रता दिनुपर्ने बताएका छन्।
कोरियाको अनुभवमा आधारित सफलताका कथा नामक पुस्तकको राजधानीमा विमोचन गर्दै उनले सम्भावना हुँदाहुँदै पनि देशभित्र आफ्नो भविष्य खोज्नेहरु अहिले कमी रहेको बताएका हुन् ।
उनले भने, ‘‘भूगोलका हिसाबले देश सानो छौँ तर प्राकृतिक दृष्टिकोणले हामी सम्पन्न छौँ। सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक, दृष्टिकोणले हामी सम्पन्न छौँ।
त्यसअर्थमा हामीले हाम्रो देशभित्र भविष्य खोज्नुपर्छ। तथापि आजको दुनियाँमा कोही पनि आफ्नो देशभित्र रहेर अघि बढ्न सम्भव हुँदैन। विभिन्न सन्दर्भमा अध्ययनका सिलसिलामा श्रम, व्यवसायका सिलसिलामा मानिसहरू एउटाबाट अर्को मुलुकमा गइरहेका हुन्छन्।’’
कोरियामा सिकेको सीप र पुँजीलाई नेपालमै सदुपयोग गरेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन युवालाई पौडेलले आह्वान गरे। पुस्तकले अरूलाई पनि विदेशबाट नेपालमा आएर केही गर्न उत्प्रेरणा मिल्ने बताए।