
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा मन्त्री, मन्त्रीका आसेपासे र बिचौलियाको हालीमुहाली रहेको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद ज्वालाले मन्त्री र तिनका आसेपासे तथा बिचौलियाले बजेटमा हालीमुहाली गरेको बताएका हुन् ।
पूर्वमन्त्री ज्वालाले सरकारले राष्ट्रिय योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाएको बताए । ‘केन्द्रमा तीन करोड रुपैयाँभन्दा माथिका योजनामा मात्र बजेट विनियोजन गर्ने भन्ने योजना आयोगको निर्देशनलाई धज्जी उडाइएको छ । बजेट छरपस्ट रूपमा वितरण गरिएको छ । बजेट बनाउँदा र वितरण गर्दा नै अनियमितताको गन्ध आएको छ ।’
उनले प्रधानमन्त्री, अर्थमन्त्री र सत्तारुढ दलका प्रभावशाली नेताको जिल्लामा बजेट थुपारिएको आरोपसमेत लगाए । ‘म अर्थमन्त्रीज्यूसँग प्रश्न गर्न चाहन्छु, के देश झापा, रुपन्देही, काठमाडौँको मात्रै हो ? के यही हो बजेटमा सुशासन ? बजेट दुरुपयोगको यो भन्दा नांगो नमूना अरु के हुन सक्छ ?’