
काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २४१ जना यात्रुको मृत्यु भएको विमान दुर्घटना स्थलमा पुगेका छन् ।
शुक्रबार दुर्घटना स्थलमा पुगेर करिब २० मिनेट बिताएका उनले भग्नावशेषको अवलोकनसँगै स्थानीय अधिकारीहरूबाट जारी अनुसन्धान, खोज/उद्धार कार्यबारे जानकारी लिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।
घटनास्थलमा पुगेर उनले सञ्चारकर्मीहरूसँग बोलेनन् । तर, घटनास्थल वरिपरि हिँडेको र ब्रिफिङ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । उनीसँग नागरिक उड्डयन मन्त्री किन्जारापु राम मोहन नायडुसहित अन्य वरिष्ठ अधिकारीहरू पनि त्यहाँ पुगेका थिए ।
अहमदाबादबाट लन्डनतर्फ उडेको एक मिनेटभित्रै बिहीबार एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल नजिकै रहेको चिकित्सकहरूको आवासीय क्षेत्रमा विमान खस्दा भवनमा भएका मानिसहरू समेत गम्भीर घाइते भएका थिए ।
विमानमा सवारमध्ये एक जना यात्रु मात्र बाँच्न सफल भएका थिए । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा जीवित रहेका व्यक्ति भारतीय मुलका बेलायती नागरिक ४० वर्षीय विश्वास कुमार रमेश हुन् । उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ ।