वीरगञ्ज (पर्सा)- पर्साको जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको बैठकले कोभिडको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सीमा नाकामा जाँचलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अध्यक्षतामा बिहीबार बसेको बैठकले समितिको बैठकले छिमेकी मुलुक भारत तथा नेपालका विभिन्न स्थानमा कोभिडका सङ्क्रमित बिरामीहरु देखापरेकाले कोभिडको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा स्वास्थ्य सतर्कता अपनाउने निर्णय गरेको छ ।
बैठकले अस्पताल तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन अनुरोध गरेको छ । त्यस्तै गरी जटिक प्रकृतिका शङ्कास्पद बिरामीलाई अन्य अस्पतालमा रेफर नगर्न पनि अनुरोध गरेको छ । बैठकले मास्क, सेनिटाइजर, अक्सिजनलगायतका कोभिड सङ्क्रमणमा प्रयोग हुने लाइफ सेभिङ उपकरणहरुको स्टक सुनिश्चित गर्ने पनि निर्णय गरेको छ ।
प्रवेश विन्दुमा खटिएका कर्मचारीहरुले विगतदेखि पाउनुपर्ने तलब सुविधा हालसम्म नपाएको गुनासो आएकाले रोकिएको पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित निकायमा अनुरोध गर्ने पनि निर्णय भएको छ ।
त्यस्तै, कोभिड सङ्क्रमणसँग सम्बन्धित परीक्षणका लागि आवश्यक सङ्ख्यामा आरडिटी टेष्ट कीट र पिसिआर तथा खोप समेत उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनुरोध गर्ने निर्णयमा उल्लेख गरिएको छ । त्यस्तै, कोभिडसम्बन्धी जनचेतना अभिवृद्धि गर्नाका साथै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कतासम्बन्धी उपायहरु अवलम्बन गर्न सबै स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।