
गोरखा- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न राजनीतिक समझदारी आवश्यक रहेको बताएका छन् ।
गोरखाको सहिद लखन गाउँपालिका भवनको आज उद्घाटन गर्दै उनले आयोजना निर्माणमा राजनीतिक सहमति अपरिहार्य भएको बताए । जुनसुकै हालतमा आयोजना निर्माण हुने बताउँदै उनले आयोजनाको ‘मेडालिटी’ र स्रोत व्यवस्थापनका कारण निर्माणमा विलम्ब भएको उल्लेख गरे। ‘‘बूढीगण्डकी आयोजना जसरी पनि बनाउनुपर्छ,” आफू प्रधानमन्त्री रहेका बेला बूढीगण्डकी आयोजना निर्माणका लागि गरेको कसरतबारे सुनाउँदै उनले भने ।
“सिंहदरवार गाउँगाउँमा भनेर हामीले जे परिकल्पना गरेर संविधान बनाइयो”, अध्यक्ष दाहालले भने, “जनताले सुविधासम्पन्न भवनबाट सहज ढङ्गले सेवा प्रवाह प्राप्त गर्न सकेमात्र त्यसको औचित्य पुष्टी हुनसक्छ ।”
उनले पछिल्लोसमय संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने कोसिस भइरहेको भन्दै गणतन्त्र पक्षधर सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। आर्थिक विकास, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राखेर राज्यले काम गर्नुपर्ने अध्यक्ष दाहालको सुझाव छ ।
यसैबीच, चितवनमा आज अपराह्न आयोजित एक कार्यक्रममा उनले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए । युवाको विदेश पलायन रोक्न राज्यस्तरबाटै प्रयत्न हुनुपर्ने उनको अभिव्यक्ति छ ।