 
                                                            बागलुङ – बागलङको निसीखोला गाउँपालिका-२ उपल्लोबेङ्ग्री गाउँमा पहिलो पटक मोटरेबल सडकको पहुँच पुगेको छ । भौगोलिक विकटताका कारण ट्रयाक खोल्न सुरु गरेको सात वर्षपछि उपल्लो बेङ्ग्री सडकले जोडिएको हो ।
बि.सं. २०७५ मा उक्त गाउँलाई सडकले जोड्नका लागि ट्रयाक खोल्न सुरु गरिएको थियो । वैशाख २१ गते गाउँमा सडक पुगेपछि स्थानीय हर्षित भएका छन् । स्थानीयले यातायात र सामान ढुवानी गर्दा सास्ती खेप्दै आएका थिए । निसीखोला गाउँपालिकाले विभिन्न आर्थिक वर्षमा बजेट विनियोजन गरी ट्रयाक खोल्न सुरु गरेको थियो । रु. ९१ लाख खर्च गरेर यस वर्ष उपल्लोबेङ्ग्री सडक विस्तार भएको वडा नम्बर २ का अध्यक्ष कुविर विकले बताए ।
अग्लो पहाड नै सिरमा रहेको बस्तीमा सडक पुर्याउनका लागि धेरै प्रयास गरे पनि यस वर्ष मात्रै सफल भएको उनको भनाइ छ । गाउँपालिकाको केन्द्र जुग्जा खोलादेखि सिधा सडकले जोड्न खोजे पनि ठूलो पहराको कारण अर्ना कोट तिरबाट उपल्लोबेङ्ग्रीमा सडक पुर्याइएको अध्यक्ष विकले जानकारी दिए ।
उनले भने, “उपल्लो बेङ्ग्रीमा सडक पुर्याउनका लागि धेरै मेहनत गरियो, यस वर्ष मात्रै सफल भयौँ, तल्लो बेङ्ग्री, चौरबेङ्ग्री हुँदै उक्त गाउँमा सडक जोड्ने प्रयास गरेका थियौँ, तल बस्तीमाथि पहरा हुँदा त्यता पट्टबाट सकिएन, अहिले अर्ना कोटबाट जोड्न सफल भयौँ, सडकले अब यहाँका सयौँ नागरिकको दैनिक फेरिने अपेक्षा लिएका छौँ ।”
उपल्लो बेङ्ग्रीमा ६५ परिवारमा २०० भन्दा नागरिक बसोबास गर्दै आएका छन् । उनीहरूलाई सहर बजार पुग्नका लागि पहिले निकै समस्या थियो । सडकले गाउँ जोडिएपछि गाउँमा थुप्रै सम्भावनाका ढोकाहरू खुलेको स्थानीय खुमबहादुर खत्रीले बताए ।
“धेरै गाउँमा पहिले नै सडक पुग्यो, हाम्रो गाउँमा बल्ल आयो, सडकलाई अझ व्यवस्थित बनाउनुपर्छ, ढिलै भए गाउँमा सडक आउँदा धेरै खुसी लागेको छ”, खत्रीले भने “अहिलेसम्म बजारबाट सामान मान्छेले नै बोकेर ल्याउने गर्थ्यौ, अब गाडीले बोकेर ल्याउने छ, कोही बिरामी परेमा पहिलेको जस्तो ढोकोमा पुगेर लैजानुपर्ने छैन, एम्बुलेन्सले बोक्ने छ ।”
 
                         
 
                 
 
                 
 
                 
 
                 
 
                 
 
                 
                                                 
                                                 
                                                 
             
             
            