
इटहरी । हावाहुरीले रुखको हाँगा ढाल्दा सडकमा गुडिरहेको स्कुटरको पछाडी सवार व्यक्तिको निधन भएको छ ।
आज बिहान १०:१५ बजे मदन भण्डारी लोकमार्गमा पकलीबाट चतरतर्फ जाँदै गरेको को २९ प ५५०२ नम्बरको स्कुटरमा रुखको हाँगा झरेको छ ।
हावाहुरीको कारण सुनसरी बराहक्षेत्र नगरपालिका-३ पटनाली जंगलमा उक्त स्कुटरमाथि सखुवाको रुखको हाँगा झरेको हो ।
स्कुटरको पछाडी सवार रामधुनी नगरपालिका-६ झुम्का बस्ने वर्ष ६० को मुनर लाल चौधरीको टाउकोमा चोट लागेको थियो ।
घाइते भएका चौधरीको उपचारको लागि घोपा धरान पुर्याइएकोमा बिहान ११:२० बजे चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले बताए ।
स्कुटर चालक सोही स्थानका सुरज चौधरीलाई भने केही भएको छैन ।