
काठमाडौं । वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिने भन्दै रकम लिएका सम्पर्कबिहीन भएका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ सुन्दरहरैचा नगरपालिका-१ घर भई काठमाडौं बासबारी बस्ने हरी बहादुर मगरले वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै रकम लिएको सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो ।
मगरले आफूसँग रकम लिएर सम्पर्कबिहीन भएको भन्दै एक महिलाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको उजुरीपश्चात विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्र काट्दै मगरलाई विभागमा उपस्थित गराइदिन अनुरोध गरेको थियो ।
विभागको पत्रपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले मगरलाई मंगलबार बसुन्धाराबाट नियन्त्रणमा लिएर थप अनुसन्धान एवं कारबाहीको लागि विभाग पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।