
काठमाडौं । संघीय राजधानी काठमाडौंमा बसेर हुण्डी मार्फत कारोबार गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र नलिई बित्तिय कारोवार गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले दुई भारतीय नागरिकलाई कालीमाटीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको मोहिहारी जिल्ला घर बताउने वर्ष २४ को ओम प्रकाश कुमार यादव र ४४ वर्षका राकेश राय रहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताए ।
उनीहरूलाई कालीमाटी कुलेश्वर एरियाबाट आज पक्राउ गरिएको हो । साथै प्रहरीले विभिन्न दरका नोटसहित दुई लाख १० हजार ४९५ रुपैयाँ समेत बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिउपर नेपाल राष्ट्र बैक ऐन २०५८ अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौं पठाइएको एसपी रेग्मीले जानकारी दिए ।