
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट सुन किन्ने बहानामा चोरी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उपत्यकाको सात भन्दा बढी स्थानका सुन पसलमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले चोरी गर्ने महिला, स्कुटरमा ती महिलालाई लिएर हिँड्ने व्यक्ति र चोरेको सुन किन्ने गरी चार जनालाई पक्राउ गरेको हो ।
रत्न महर्जन नाम गरेकी महिला सुन पसलमा जाने र सुन किन्ने बहाना पार्दै विभिन्न गरगहना देखाउन लगाउने र चोरी गर्ने गरेको पाइएको छ ।
उनलाई बागमती प्रदेश-०२ ०४०प ६०५५ नम्बरको स्कुटरमा लिएर हिँड्ने काम सुमन पुतुवारले गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
घटनामा संलग्न महर्जन र पुतुवारलाई शुक्रवार पक्राउ गरेपछि उनीहरूको बयानको आधारमा चोरी भएको सुन खरिद गर्ने कार्यमा संलग्न दुई जनालाई सोमबार नियन्त्रणमा लिइएको हो ।

सुन खरिद गर्नेमा नुवाकोटका बिरेन्द्र बि.क. र भारतीय नागरिक हनुमन्त फाँडेलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।
घटनामा संलग्न चार जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
